Showing posts with label BFS-C.Nepali-1st Year. Show all posts
Showing posts with label BFS-C.Nepali-1st Year. Show all posts

Thursday, August 30, 2018

नेपाली भाषा

एकाइ (क)
नेपाली भाषा

१.१ नेपाली भाषाको संक्षिप्त इतिहास
नेपाली भाषाको इतिहास कस्तो छ ? भन्ने कुरा बुझ्नुभन्दा पहिले भाषा भनेको के हो ? यसको अर्थ र विशेषताका बारेमा संक्षेपमा बुझ्नु जरुरी छ ।
भाषा
भाष् धातुमा अङ्+टाप(आ) प्रत्यय जोडेर बनेको शब्द हो । यसको अर्थ व्यक्त वाणी भन्ने हुन्छ । मानव उच्चारण अवयद्वारा उच्चरित सार्थक ध्वनि भाषा हो । अर्थात् भाषा भनेको मानव उच्चारण अवयव (अङ्ग)द्वारा उच्चरित यादृच्छिक र परम्परित वाक्प्रतीकहरूको व्यवस्था हो, जसले मानव समुदायमा भाषिक सम्प्रेषणको काम गर्दछ ।
भाषाका विशेषता
भाषाका आफ्नै मौलिक विशेषता हुन्छन् । ती मूलभूत विशेषता निम्नलिखित छन्–
१) भाषा यादृच्छिक हुन्छ–
यादृच्छिक भनेको चयनको स्वतन्त्रता हो । कुनै पनि भाषामा कुनै वस्तु वा भावको सोझो वा तर्कपूर्ण सम्बन्ध कुनै शब्दसँग रहेको हुँदैन समाजको इच्छाअनुसार स्वेच्छिक सम्बन्ध हुन्छ । जस्तै– अङ्ग्रेजीमा ग्रेप, नेपालीमा अङ्गुर र बङ्गालीमा दाख शब्दले एउटै फललाई सङ्केत गर्छ ।
२) भाषा वाक्प्रतीकको व्यवस्था हो–
वाक् भनेको बोली हो भने प्रतीक भनेको कुनै वस्तुलाई चिनाउने चिह्न हो । जस्तै ‘पानी’ शब्द आफैमा पानी होइन तर त्योे वास्तविक पानीलाई चिनाउन प्रयोग हुने प्रतीक (चिह्न) मात्र हो । अतः भाषा वाक्प्रतीको व्यवस्था हो ।
३. भाषामा सिर्जनात्मकता हुन्छ –
भाषामा सिर्जनात्मकता भनेको कुनै व्यक्तिले परिचित भाषामा कहिल्यै नसुनेको र नबोलेको नयाँ–नयाँ वाक्य पनि बनाएर प्रयोग गर्न सक्दछ ।
४ भाषा मानवीय र सामाजिक वस्तु हो–
मानवेतर प्राणीले भाषाको प्रयोग गर्न सक्दैनन् अतः भाषा मानवीय वस्तु हो । कुनै पनि व्यक्तिले भाषा सामाजिक सम्पर्कबाट मात्र सिक्छ र समुदायमै प्रयोग गर्छ । यसर्थ भाषा सामाजिक वस्तु हो ।
५ भाषा एउटा व्यवस्था हो–
भाषा आफैमा व्यवस्थित हुन्छ । व्यवस्था भनेको नियमबद्धता हो । भाषामा ध्वनिदेखि वाक्यसम्मका व्यवस्थाको निरन्तरता हुन्छ । भाषिक व्यवस्थामा ध्वनि, व्याकरण, अर्थ र शब्दभण्डारको व्यवस्था हुन्छ ।
नेपाली भाषाको ऐतिहासिक पक्ष
भाषाको उत्पत्ति कहिले भयो भनेर किटान गर्ने कुरामा भाषाविद्हरूबीच मतैक्य पाइदैन । यस सम्बन्धमा लामो बहस चलेपछि फ्रान्सको भाषाविज्ञान परिषद् र जर्मनीका वैयाकरणहरूले अनिर्णित बिषयमा बहस नचलाउने निर्णय समेत गरेका थिए । जे होस् मानव समाजको अस्तित्वको सुरुवातदेखि नै भाषाको सुरु भएको नकार्न नसकिने हुनाले यसको विकासक्रमको खोजी गर्नुपर्ने महसुस गरियो र उन्नाइसौं शताब्दीको सुरुमा संस्कृत र अन्य भाषाको तुलनात्मक अध्ययन थालिएपछि भाषाको वैज्ञानिक अध्ययन सुरु भएको मानिन्छ ।
विश्वमा बोलिने भाषाहरू हाल ४०००–७००० का बीचमा रहेको बताइए तापनि सुरुमा थोरै मात्र भाषा अस्तित्वमा थिए । कालान्तरमा भाषाका विभिन्न परिवारबाट छुट्टिएर धेरै सङ्ख्यामा रहन गएको मानिन्छ । वर्तमान विश्वव्यापीकरणले गर्दा द्विभाषी तथा विविधभाषी हुदै प्रभावी भाषाले कमजोर भाषा लोप हुँदै जाने तथा नयाँ भाषा बन्ने क्रम पनि बढिरहेको पाइन्छ ।
संसारमा अनेकौ भाषा बोलिन्छन् । ती भाषाहरूका बीच भाषिक समानता र  ऐतिहासिक सम्बन्ध रहेको पाइन्छ । यस्ता भाषाहरूको तुलनात्मक अधययन गरेर समान विशेषताका आधारमा भाषाहरूलाई एउटै समूह वा परिवारमा राखेर ती भाषाको माउ भाषा देखाउनु नै पारिवारिक वर्गीकरण हो ।
भाषामा वर्गीकरणका थुप्रै आधारहरू छन्– देशका आधारमा, महादेशका आधारमा, धर्मको आधारमा, काल (समय)का आधारमा, भाषाको संरचना (योगात्मक र अयोगात्मक) आदिका आधारमा वर्गीकरण गर्न सकिन्छ ।
यस्ता थुप्रै आधारहरू भए तापनि तीन मुख्य आधारमा वर्गीकरण गर्ने गरिन्छ–
१) पारिवारिक वा वंशगत वर्गीकरण
२) संरचनात्मक वा आकृतिमूलक वर्गीकरण
३) भौगोलिक वर्गीकरण
उपर्युक्त तीन आधारमध्ये पारिवारिक वर्गीकरणमा भाषिक र स्थानिक समानतालाई आधार मानेर गरिएको वर्गीकरणमा निम्नलिखित दश परिवार छन्–
१) भारोपेली २) द्रविड
३) मलय पोलिनेसियाली ४) ककेसियाली
५) आष्ट्रिक ६) जापान–कोरियाली
७) युराल–अल्टाइकेली ८) चिनियाँ–तिब्बती
९) अमेरिकाली १०) अफ्रिकाली



भारोपेली परिवार र नेपाली भाषा
संसारमा सबैभन्दा बढी भाषिक परिवार भएको भाषा भारोपेली हो । यसको नाम भारतेली र युरोपेलीको सङ्क्षेपीकृत रूपबाट बनेको मानिन्छ । अङ्ग्रेजीमा यसलाई इन्डोयुरोपियन भनिएको पाइन्छ । यस भाषाका वक्ताहरूको मूल थलोका रूपमा मतैव्य पाइदैन । ब्रान्देस्ताइनले यसको आदिमस्थलका रूपमा युराल पर्वतमालादेखि दक्षिणपूर्व अवस्थित किर्गिज मैदानलाई लिएका छन् । उनको मतलाई तुलनात्मक रूपमा अलि प्रामाणिक मानिन्छ । यस परिवारमा पर्ने भाषालाई सतम् र केन्तुम दुई वर्गमा वर्गीकरण गरिएको पाइन्छ । ‘सय’ जनाउने शब्दका सुरुमा ‘स’ ध्वनि हुने भाषालाई सतम् र ‘क’ वा ‘ह’ ध्वनि हुने भाषालाई केन्तुम वर्गमा राखिएको पाइन्छ–
सतम्
केन्तुम्
भाषा
सय सङ्ख्याबोधक शब्द
भाषा
सय सङ्ख्याबोधक शब्द
अवेस्ता
सतम्
ग्रिक
हेक्टोन
संस्कृत
शतम्
ल्याटिन
केन्तुम
प्mारसी
सद्
गोथिक
हुन्द÷सुन्द
रुसी
स्तो
आ.अङ्ग्रेजी
हन्ड्रेड
हिन्दी
सौ
जर्मन
हुन्डर्ट
नेपाली
सय
फ्रेन्च
केन्ट
भारोपेली परिवारका भाषा दुई (सतम् र केन्तुम) वर्गमा रहेका छन् । सतम् वर्गमा अल्बानियाली, आर्मेनियाली बाल्टेली, सलाभेली र आर्य–इरानेली शाखाहरू छन् भने केन्तुम वर्गमा केल्टेली, जर्मनेली, इटालेली, ग्रिसेली र तोखारेली पर्दछन् ।
भारोपेली परिवारको सतम् वर्गअन्तर्गत आर्य–इरानेली शाखाको पनि तीन उपवर्ग छन्– इरानेली, दरद र आर्य । यही आर्य–इरानेलीको आर्य (संस्कृत,प्राकृत, अपभ्रंश र आधुनिक) भाषाबाट नेपाली भाषा जन्मेको पाइन्छ ।
संस्कृत भाषालाई आर्यभाषा भनेर चिनिन्छ । आर्य भाषा संस्कृतको उत्पत्ति इ.पू. १५०० मा भएको मानिन्छ । यसका भाषाको विकास तीन चरणमा भएको पाइन्छ–